पर्यटन वर्ष २०८३: हेटौंडालाई ‘शून्य फोहोर’ बनाउन सरकारी कार्यालय र वडास्तरमै सुरु भयो अभियान

हेटौंडा।
हेटौंडा उपमहानगरपालिकाले घोषणा गरेको ‘पर्यटन वर्ष २०८३’ लाई सफल पार्ने मुख्य खम्बाका रूपमा ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान तल्लो तहसम्मै कार्यान्वयनमा आएको छ। औपचारिक कार्यक्रममा मात्र सीमित नराख्ने उद्घोष गरिएको यो अभियानअन्तर्गत बिहीबार (श्रावण २२ गते) देखि नै जिल्लाका प्रमुख सरकारी कार्यालय तथा विभिन्न वडास्तरमा व्यापक सरसफाइ र सचेतनाका कार्यक्रमहरू सुरु भएका छन्। फोहोर व्यवस्थापनलाई नागरिकको दैनिक संस्कार बनाउने लक्ष्यसहित उपमहानगरले बजेट विनियोजन गरेरै काम अघि बढाएको हो।

हेटौंडा उपमहानगरपालिका १५ नं. वडा

​अभियानको पहिलो दिन नै जिल्ला प्रशासन कार्यालय मकवानपुरका कर्मचारीहरू स्वतःस्फूर्त रूपमा मैदानमा उत्रिएका छन्। कार्यालय परिसरलाई स्वच्छ र पर्यावरणमैत्री बनाउन कर्मचारीहरू आफैंले परिसरको फोहोर संकलन र व्यवस्थापन गरेका थिए। सरकारी अड्डाबाटै सुरु भएको यो सुरुवातले आम नागरिक, निजी क्षेत्र र अन्य संघसंस्थाहरूलाई समेत आफ्नो कार्यालय र घर वरपरको वातावरण सफा राख्न बलियो सकारात्मक सन्देश दिएको छ।

हेटौंडा उपमहानगरपालिका ४ नं. वडा

​यसैगरी उपमहानगरका विभिन्न वडाहरूमा पनि यो महाअभियानले तीव्रता पाएको छ। हेटौंडा-१५ नम्बर वडा कार्यालयका कर्मचारीहरूले वडा प्राङ्गण र त्यस वरपरको क्षेत्र सफा गर्दै अभियानमा ऐक्यबद्धता जनाएका छन् भने हेटौंडा-४ नम्बर वडा कार्यालय परिसरमा पनि विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। वडा तहमा सुरु भएको यो सक्रियताले उपमहानगरपालिकाले अघि सारेको ‘मेरो फोहोर, मेरो दायित्व’ भन्ने नारालाई टोल-टोलमा चरितार्थ गर्न मद्दत पुर्‍याएको देखिन्छ।

​यो महाअभियानलाई थप प्रभावकारी बनाउन उपमहानगरपालिकाले नगरभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामा कडाइका साथ प्रतिबन्ध लगाउने र सार्वजनिक यातायात तथा व्यापारिक पसलहरूमा अनिवार्य डस्टबिन राख्नुपर्ने नियम समेत लागू गरेको छ। दीर्घकालीन रूपमा फोहोरमैला व्यवस्थापनका लागि वडा नं. १५ तथा वडा नं. ६ र ७ को सीमाक्षेत्रमा आधुनिक ल्यान्डफिल्ड साइट र ढल व्यवस्थापनका लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेकाले आगामी दिनमा हेटौंडाको वातावरणीय रूपान्तरणले नयाँ उचाइ लिने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.