देशका कतिपय क्षेत्रमा साम्प्रदायिक तनावका खबरहरू आइरहँदा हेटौँडाको सडकमा भने सामाजिक सद्भाव र एकताको सुन्दर दृश्य देखिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको आह्वानमा आयोजना गरिएको बृहत् सद्भाव र्यालीमा बौद्ध भिक्षु, हिन्दु धर्मगुरु, मुस्लिम समुदायका प्रतिनिधि तथा विभिन्न धार्मिक–सांस्कृतिक समूहका अगुआहरू राष्ट्रिय झन्डा बोकेर एउटै पंक्तिमा अघि बढेका हुन्।

हेटौँडा-४ स्थित हुप्राचौरबाट सुरु भएको उक्त र्यालीमा नगरका विभिन्न क्षेत्रबाट हजारौँ सर्वसाधारण, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय तथा अधिकारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो। हात-हातमा राष्ट्रिय ध्वजा र शान्तिको सन्देश लेखिएका प्लेकार्ड बोकेर सडकमा ओर्लिएका सहभागीहरूले मकवानपुर सधैँ आपसी भाइचारा र सहिष्णुताको पक्षमा रहेको प्रष्ट सन्देश दिएका छन्।

विभिन्न धर्म र पहिरनमा सजिएका मानिसहरू एकसाथ खुसीसाथ र्यालीमा सहभागी भएको दृश्यले स्थानीय तहमा साम्प्रदायिक सद्भाव कति बलियो छ भन्ने कुरा प्रष्ट पारेको छ। कुनै पनि प्रलोभन वा उक्साहटमा नपरी आपसी सद्भाव जोगाउन हेटौँडावासी प्रतिबद्ध रहेको यो प्रदर्शनले देशैभर एक सकारात्मक र अनुकरणीय सन्देश प्रवाह गरेको छ।











