वंशगोपाल बहुमुखी क्याम्पसको छैटौँ सभा सम्पन्न: नयाँ भवन उद्घाटनसँगै विश्व राज राईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

हेटौँडा, ९ साउन । मकवानपुरको हेटौँडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसको छैटौँ क्याम्पस सभा एवम् नवनिर्मित भवन उद्घाटन समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री उज्ज्वल चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य माननीय श्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। समारोहका अवसरमा प्रमुख अतिथि श्रेष्ठले क्याम्पसको नवनिर्मित दोस्रो तथा तेस्रो तला भवनको औपचारिक उद्घाटन गर्नुभएको थियो।

​सोही सभाले श्री विश्व राज राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ क्याम्पस सञ्चालक समिति सर्वसम्मत रूपमा गठन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा श्री पूर्ण भद्र चौलागाईं चयन हुनुभएको छ भने सदस्यहरूमा श्री सुभद्रा तिमिल्सिना, श्री भरत सापकोटा, श्री समाधान सापकोटा, श्री उदय बिडारी, श्री पुष्पराज अधिकारी र श्री विक्रम कुमार सञ्जेल सर्वसम्मत निर्वाचित हुनुभएको छ। १३ सदस्यीय समितिमा १ जना मनोनीत हुनेछन् भने क्याम्पस प्रमुख (श्री लक्ष्मण कँडेल) सदस्य-सचिव रहने गरी ४ जना पदेन सदस्य रहने व्यवस्था रहेको छ।

​कार्यक्रममा शिक्षा क्षेत्रको विकासका लागि हातेमालो गर्दै हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसका प्रिन्सिपल पुरानबहादुर जोशीले वंशगोपाल बहुमुखी क्याम्पसलाई रु ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो। नयाँ भौतिक संरचनाको निर्माण र नयाँ नेतृत्वको चयनसँगै क्याम्पसको शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर थप सुदृढ हुने विश्वास व्यक्त गर्दै सहभागीहरूले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.