आँखाभरि आँसु बोकेको
एउटा विशाल शोक बनेर बगेको छ।
हिजोसम्म जीवन बोकेर हिँडेको पानी,
आज कसैको घर,
कसैको सपना,
कसैको आफ्नै मान्छे बोकेर
निर्दयी वेगमा दौडियाे
कतै आमाको काख रित्तियाे
कतै बाबुको सहारा हरायाे
न घर रह्यो, न चुलो बल्याे
एउटा भयानक गर्जनभित्र
मौन चित्कार दबियाे
कतै सुरक्षाकर्मीहरू
ज्यानको बाजी थापेर
डोरी समाउँदै,
छालसँग लड्दै,
आफ्नो जीवनभन्दा पर
अरूको जीवन खोजिरहेका छन्
तर त्यही किनारमा
अर्को एउटा दृश्य
बाढीले बगाएर ल्याएको
लाशलाई हेरेर
मन कठोर बनाउनुपर्ने विवशता,
र त्यही पानीभित्र
बगेका सिलिन्डर र सामान टिप्न
तँछाडमछाड गरिरहेका छन्।
कस्तो विडम्बना!
एउटै त्रिशूली
प्रियजन बगेको, घर बगेको
अनि सपना बगेको छ—
तर कसैका लागि
त्यही बाढीले ल्याएको सामान
आज बाँच्ने एउटा अवसर जस्ताे बन्याे
दोष कसलाई दिऊँ?
भोकलाई?
गरिबीलाई?
विवशतालाई?
कि त्यो निर्दयी परिस्थितिलाई
जहाँ मान्छेले
लाशभन्दा पहिले
आफ्नो भोलि खोज्नुपर्ने हुन्छ?
त्रिशूली,
तिमीलाई के थाहा—
तिम्रा छालसँगै
कति कथा बगेका छन्।
कति अधुरा सपना,
कति नबोलेका शब्द,
कति आमाका प्रार्थना,
कति सन्तानका आशा
तिम्रो गहिराइमा हराएका छन्।
आज तिम्रो किनारमा
उद्वार गर्ने हातहरू
रोइरहेका आँखाहरू
हराएका आफन्त खोज्ने भीड
र बाँच्नका लागि
जोखिम मोलेर सामान टिप्ने हातहरू
यो दृश्यलाई
न त केवल अपराध भन्न सकिन्छ,
न त केवल विवशता।
यो त हाम्रो समाजको
त्यो तीतो ऐना हो—
जहाँ विपत्तिले
मान्छेको पीडा मात्र होइन,
उसको अभाव पनि
नांगो पारिदिन्छ।
सबै आत्माहरूका लागि
हाम्रो एउटा मौन प्रार्थना
बगेको पानी फर्काउन नसके पनि,
बगेको जीवनको पीडा
मानवताको स्मृतिबाट कहिल्यै नबगोस्।
लेखक
गणेश तिमल्सिना
हेटौंडा ६






